हरेक दिन बिहान झिसमिसेमै के युवा, के वृद्ध, के महिला सबैका काँधमा कि त कोदाला छन्, कि त गैची छन्, कि त साबेल छन्। सबैको साझा उद्देश्य छ, “राष्ट्रका लागि मात्र एक घण्टा।”
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका र गुल्मी जिल्ला धुर्कोट गाउँपालिकाका केही युवाहरू अहिले “राष्ट्रका लागि मात्र एक घण्टा” अभियान सञ्चालन गरेर बाबुबाजेको इन्जिनियरिङमा बनेका तर लोपोन्मुख गोरेटा र घोडेटाहरूलाई पुनः जीवन दिने काम गरिरहेका छन्। नवीन विचार र पुरानो जीवनशैलीको संयोजनबाट सबैको ध्यान आकर्षण गरिरहेका छन्। जनतालाई अप्ठ्यारो परेको बेलामा राज्यले र राज्यलाई अप्ठ्यारो परेको बेलामा जनताले साथ दिनुपर्छ भन्दै यो अभियानमा जुटेको अभियानका अगुवा बुद्धिराम खत्रीले बताए।
बसाईसराई तथा बढ्दो पलायनसँगै हाम्रा ग्रामीण बस्तीहरू रितिँदै गएका छन्। त्यसै गरी आधुनिकीकरणका नाममा निर्माण भएका लामा मोटर बाटोले प्राकृतिक जीवनशैलीमाथि कुठराघात गरेको छ। सयौँ वर्षअघि बाबुबाजेले प्रयोग गर्दै आएका छोटा सडकहरूलाई पुनः जीवन दिई कृत्रिम जीवनशैलीबाट प्राकृतिक जीवनशैलीतर्फ फर्कनको निम्ति यो अभियान सञ्चालन गरिएको अभियन्ता खत्रीले बताए।
-अभियन्ता बुद्धिराम खत्री
पुराना गोरेटा तथा घोडेटाहरू बाबुबाजेका नासो हुन्। तिनीहरूलाई जोगाएर राख्ने दायित्व तिनका सन्ततिहरूको हो। बाबुबाजेले रगत र पसिना बगाएर निर्माण गरेका संरचनाहरूको संरक्षण, संवर्धन र विकास गर्नु बाबुबाजेहरूप्रतिको असली श्रद्धा हो। पितृश्रद्धाका लागि आफू यस अभियानमा जोडिएको अभियानका सदस्यद्वय चेतनारायण भुसाल र देवीराम भुसालले बताए।
हामी स्वच्छ भए मात्र देश स्वच्छ हुन्छ । पहिला हामीमा सुधार हुन जरुरी छ भन्ने विचार अभियान्ता खत्रीको रहेको छ। आफूले मेहनत गरौँ, अरूको आशा नगरौँ र अरूलाई आरोप पनि नलगाऔँ भन्दै सकारात्मक सन्देश प्रवाह गर्दै आएका खत्रीले सबैलाई यस अभियानमा जोडिन आग्रह गरेका छन्।
नेपालीहरू कामभन्दा कुरा धेरै गर्न सिपालु भएका छन्। धेरै बोल्ने ओठभन्दा काम गर्ने हात पवित्र हुन्छन्। सबैले आफ्नो वरिपरि एक घण्टा श्रमदान गरेमा देश परिवर्तन हुने खत्रीको ठहर छ। श्रमदानले एकातिर व्यक्तिको स्वास्थ्य राम्रो हुन्छ भने अर्कोतिर राज्यले पनि ठुलो लाभ लिन सक्छ। फेसबुक लाइभमार्फत आग्रह गरी सुरु गरिएको यो अभियानमा अहिले युवा, वृद्ध, महिलालगायत ५० औँको सहभागिता रहेको छ भने देशविदेशका हजारौँले यो अभियानप्रति समर्थन जनाएका छन्।
यस अभियानको पहिलो चरणमा गुल्मीको धुर्कोट गाउँपालिकाको उपल्ला खालबाट अर्घाखाँचीको मालारानी गाउँपालिकाको डाँडाकटेरी बजार आउने प्राचीन सडकको एक तिहाई काम सम्पन्न भएको सो अभियानमा जोडिएका डिल बहादुर खत्रीले बताए।
सहरमा मर्निङ वाक भनेर कानमा एयरफोन घुसाई व्यायामका नाममा बेतुकको हिँडाई हिँड्ने परिपाटी छ। त्यसबाट व्यक्तिलाई फाइदाभन्दा पनि हानि धेरै गर्ने अभियन्ता खत्री बताउँछन्। जसले कोदालो चलाउँछ त्यसको शरीरका सबै अङ्गमा रक्तसञ्चार व्यवस्थित तरिकाले हुने र अनावश्यक मासु नलाग्ने र बोसो नजम्ने खत्रीको ठहर छ। धुर्कोट र मालारानीका सीमा क्षेत्रका युवाहरू काँधमा कोदाला बोकेर सडक खोज्दै हिँडिरहेका छन् । यसबाट एकातिर यथेष्ट मात्रामा शारीरिक कसरत भएको छ भने अर्कोतिर सामाजिक उत्तरदायित्व पूरा भएको देखिन्छ। यो अभियान नरोकिने र रोक्न नहुने विचार अभियन्ता खत्रीको छ। सहर पसेकाहरू दसैँतिहारमा गाउँ फर्कने र यो अभियानमा जोडिने उनको विश्वास पनि रहेको छ।
हरेक दिन एक घण्टा श्रमदान गर्दै आएका युवाहरू “राष्ट्रका लागि मात्र एक घण्टा” अभियानमा श्रावण २६ गते शनिबार भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म श्रमदानमा सक्रिय भए। यस अभियानमा बुद्धिराम खत्री, निम बहादुर खत्री, डिल बहादुर खत्री, भिम बहादुर खत्री, कुशुम खत्री, बल बहादुर खत्री, ऋषिराम खत्री, ज्ञानु खत्री, चन्द्र बहादुर खत्री, नारायण खत्री, गिता जिसी, प्रभा जिसी, समीर खत्री, श्याम बहादुर जिसी, कृष्ण बहादुर जिसी, शोभा जिसी, आदर्श जिसी, आर्यन जिसी, शिवलाल कुँवर, चेत नारायण भुसाल, देवीराम भुसाल, शिवलाल भुसाल, प्रदिप गौतम, राजु नेपाली, जगत प्रसाद खनाल, प्रकाश पोख्रेल, भानुभक्त फुल्देल आदिको सक्रिय सहभागिता रहँदै आएको अभियन्ता खत्री बताउँछन्।
यस अभियानमा स्थानीय सरकार अर्थात् कुनै राजनीतिक दल विशेष जोडिएका छैनन्। यो विशुद्ध सेवा भावले प्रेरित छ। स्वविवेकले श्रमदान दिन इच्छुक जो कोही पनि यसमा जोडिएका छन् र जोडिन सक्छन्।
स्थानीय युवाहरूले चलाएको कदममा ऐक्यबद्धता जनाउन भौतिक रूपमा सम्भव नभए पनि काठमाडौँमा व्यवसाय गरेर बस्ने अर्जुन कुँवर, बसाई सरेर दाङमा व्यवसाय गर्ने सफल व्यवसायी हेमराज बन्जाडे र रोजगारीका लागि कोरिया जानुभएका मिलन केसीबाट श्रमदाताहरूको खाजाको व्यवस्था गर्ने आश्वासन आएको अभियन्ता बुद्धिराम खत्रीले सुनाए।