७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा मतगणना थाल्ने तयारी


१६ मंसिर २०८१, आइतबार  

0
Shares

उपनिर्वाचन सम्पन्न भएको काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा मतगणना थाल्ने तयारी भइरहेको छ। 
सबै मतपेटिकाहरू मतगणना स्थलमा पुर्‍याइएको छ।
बालाजुको च:मतिस्थित १६ नम्बर वडा कार्यालयमा मतगणना हुनेछ। अहिले सर्वदलीय बैठक बसिरहेको छ।
काठमाडौं महानगरपालिका–१६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ। यस क्षेत्रबाट २०७९ सालको प्रतिनिधि सभाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका थिए। उनी अहिले रास्वपाको निर्वाचन संयोजन समितिका संयोजक पनि हुन्।
प्रतिनिधि सभा निर्वाचनमा पराजुलीले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरेका थिए।
तेस्रो मत मानुषी यमी भट्टराईले प्राप्त गरेकी थिइन्। नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट उम्मेदवारी दिएकी उनले  ६ हजार ६३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्लले २ हजार ८६३ र स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले २ हजार ७ सय ८३ मत प्राप्त गरेका थिए।
काठमाडौं ७ मा नेपाली कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवारका रूपमा मानुषी यमीलाई अघि सारेका थिए।
समानुपातिकतर्फ भने रास्वपाले उल्लेख्य मतले एमाले, कांग्रेसलगायत दललाई पछि छाडेको थियो। रास्वपाले काठमाडौं ७ बाट १० हजार ५ सय ८८ मत प्राप्त गरेको थियो। एमालेले ६ हजार २ सय ९९ मत ल्याएको थियो।
कांग्रेसले ५ हजार ४० मत प्राप्त गर्दा राप्रपाले  ४ हजार ६२९ मत ल्याएको थियो।
एकीकृत समाजवादीले २ हजार २ सय ७८, हाम्रो नेपाली पार्टीले १ हजार ६ सय ७२, माओवादी केन्द्रले १ हजार ६ सय ६८ र जनता समाजवादी पार्टीले १ हजा र ४ सय ७ मत ल्याएका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १ : ५७ बजे