८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

असोज ३ गते देखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।


२ आश्विन २०८१, बुधबार  

0
Shares

२ असोज, काठमाडौं । असोज ३ बिहीबार देखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।
काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोज देखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।
परियोजनाले भोलि देखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ । त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनले बताए ।एप बनाएर टिकट काट्ने व्यवस्था गर्न लागेका थियौं, सम्भव भएन,’ उनले अगाडि भने, ‘अब तोकिएको वेबसाइटमार्फत विहान ११ बजेपछि प्रत्येक आधा घण्टामा १०० जनाका लागि टिकट बुक गर्ने गरी व्यवस्था मिलाउन लागेका छौं ।

भोलिको हकमा वेबसाइटमार्फत सम्भव नभए धरहरा परिसरमै भौतिक रुपमा टिकट काट्ने व्यवस्था मिलाउने परियोजना प्रमुख अधिकारीले बताए । अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ११ : १९ बजे