नेपाली पाखा झ्याउरे भाका सुन्दर संस्कृति
अनेकतामा एकता खोज्ने नेपाली प्रकृति।
नेपाली हाँसो पुर्खाको नासो जोगाई बाँच्नु छ
पुरानो सोच परिष्कार गरी साहित्य जाँच्नु छ।

अनिताजीको ‘उज्यालो औँसी’ खोजेर ल्याइयो
स्वैरकल्पनाले कथाका माला उनेको पाइयो।

विभिन्न विधा मिश्रण गरी घुमेको चौतर्फी
निबन्ध हो कि कथा पो हो कि देखिन्न एकतर्फी।

उज्यालो औँसी सागरभित्र डुबुल्की मारेर
मनमा आए भावना मेरा लेख्दैछु खारेर।

उज्यालो औँसी पढेर हेर्दा उज्यालै देखियो
जिम्मेवारीको भार उठाउने नारी पो भेटियो।

आज र भोलि नेपाली जन हिंसाको बाटोमा
हत्याको खेती कति हो कति नेपाली माटोमा।

नारीका व्यथा प्रेमका कथा पस्केर पानामा
पितृसत्ताका भद्दा बाछिटा देखिए गानामा।

निराशामाथि आशाको जित सुनौलो बिहान
अँध्यारोभित्र उज्यालो खोज्ने अनुको चाहना।

सामन्ती सारा लोभिए हेर देखेर सम्पत्ति
हजुरबुबा बेपत्ता भए छाडेर सन्तति ।

लुटिँदा धन उनको मन पीडाको जलन
गरेर खाने जमिन लुट्ने सामन्ती चलन।

सकेनन् उनी सहेर बस्न घरको झगडा
देखेका थिए उनले फेरि बुहारी तगडा।

रघुको मन कोमल थियो दु:खीको मामला
सामना गर्न नसकी जाली गरेछन् हमला।

गर्नका लागि बुबाको रक्षा तोडेर बन्धन
आमा र बुबा दैवका अघि भ्रूणको क्रन्दन।

मायाको खानी आशाको दीप गाउँका सहारा
षड्यन्त्रकारी पापीले फेरि बनाए आहारा।

गर्भकी छोरी टुहुरी भई जन्मुँ कि नजन्मुँ
गर्भको ध्वनि सुन्दैन कोही कसरी पो भन्नु?

घरको मियो भाँचिँदाखेरि पसिना चट्चटी
आमाको मुटु भत्भती पोल्दा छोरीको छट्पटी।

समाज भन्छ गर्भकी छोरी दुःखको कारक
आमाले भन्छिन् पतिको नासो अन्तिम सार छ।

समाज यहाँ सुझाव दिन्छ गर्भको पतन
आमाको मन कसरी मान्छ नगरी जतन?

मातृवात्सल्य छचल्किएर नमानी सङ्कोच
टुहुरी छोरी जन्माइन् आमा *युगको उद्घोष ।

प्रसव पीडा सहेर आमा जन्म भो छोरीको
आफन्त जन सबैको मन दुःखले घेरेको।

बाबु टोकुवा पिराहा भनी उपमा दिएर
हजुरआमाले दैव पुकारिन् नातिनी लिएर।

कलिलो मन अनुको तन सबैको हेला भो
छोरी नै छोरी घरको भरि छिमेकी भेला भो।

विवेक शून्य छिमेकी जन नदिई राहत
नहुँदा पति एक्ली श्रीमती पीडाले आहत।

निराश आमा देखेर छोरी चोटमा परेकी
स्वर्गीय बुबा पुकारी फेरि बिनती गरेकी।

आमाको हाँसो छोरीको नासो पिताको अभाव
*हाँस्न भन्नु न हे मेरा बुबा आमाको स्वभाव।

विविध जाति धर्म र पेसा नेपाली संस्कृति
तल र माथि यता र उति बालक प्रवृत्ति।

झारफुक गर्ने झुङ्गेली बाजे अचम्म चोला छ
पिताको याद चिनेको साथ *भ्रान्तिको कोलाज।

छोरा र छोरी विभेदकारी नेपाली चलन
उदण्ड झन अनुको मन मुटुमा जलन ।

तँ तँ र म म दाजुबहिनी मायाको सागर
विद्रोही भाव देखियो आज ढुङ्गाको प्रहार ।

बहिनी यस्ती थिइनन् पैले रिसकी भण्डार
दाजुले साँच्ची दिएर माफी रङ्गीन संसार।

पारिजातको हालत भयो बुबाको जीवन
बिरामी परी काखकी छोरी पोलेको छ मन।

जन्ममा दु:खी मृत्युमा खुसी आरिसे समाज
पितृसत्ताको फोहोरी सोच घृणित जमात ।

*मृत्यु नजिक आएको वेला आफन्त रमाए
अनुको होस खुलेको देख्दा टाउको समाए।

अनुको बानी अनौठो ठानी चल्यो छलफल
पाटन लगे इलाज गर्न भएन सफल।

दिदी माइती आएको वेला भइनन् फुरुङ्ग
ज्ञान विज्ञान जिज्ञासा झन *सम्भ्रमको सुरुङ।

धनीगरिब दुइटा वर्ग गरिब धेरै छन्
गरेर खाने वर्गको हेर समस्या धेरै छन्।

दुःखीको साथ रघुको हात डराए रकमी
पर्दा पछाडि षड्यन्त्र गरी वर्षाए छपनी।

रघुकी छोरी गर्भे टुहुरी समाज बुझेकी
म पनि अब *सामन्ती हुन्छु भनेर हिँडेकी।

सामन्ती नाम दिएका जत्था बाबुका हत्यारा
गर्भमा हुँदा बीभत्स हत्या लागेन पत्यार ।

हत्याको बाटो *अँध्यारो घाम कहिले नासिन्छ
सत्ताको लागि हत्या रोजेमा समाज मासिन्छ।

वारि र पारि झगडा हुँदा बिचमा जनता
समाज फेरि कसरी हुन्छ सफल भन त?

मुखमा राम बोलीमा हरि मनमा कोइला
सामन्ती हौवा पिटेर मार्ने *भूतका पाइला।

व्यवस्था अनि अवस्था पनि अदलबदल
भूतको याद अनुको साथ अझै छ खल्बल।

कहाली लाग्दो औँसीको दिन बीभत्स हत्याको
*भूतको ढ्याङ्ग्रो बजेको फेरि पुरानो सत्ताको।

सतिसाल बनी पतिको नासो जन्माइन् आमाले
शिक्षा र दीक्षा संस्कार दिई हुर्काइन् तिनले।

ढिकी र जाँतो समाजसेवा एकलै आँटेकी
किसानी कर्म गरेर आमा मिलेर बाँचेकी।

पतिको शोक शक्तिमा ढाली सन्तान पालेकी
*पतिको मार्ग अँगाली नयाँ जीवन थालेकी।
सम्पत्ति सारा सबैको साझा आमाले सम्झने
गाउँले जन नहुँदा धन दिन नै तम्सने ।
उदार छाती गाउँकी साथी रघुकी जहान
ससुरा पति नभए पनि चलाइन् जीवन।

बाहिरी छाला पुरुषवाला जान्दैन मनको
नारी सौन्दर्य तनमा खोज्छ उन्मत्त धनको।

अनुकी सखा *चिनेको चिनो भुत्लाले ढाकेको
घरमा उनी सकिनन् टिक्न सम्बन्ध गाँसेको।

अन्धविश्वास, विभेद खास, नेपाली जनको
विज्ञान युग, रूढि मान्यता, जङ्गलीपनको।

एकल नारी पीडाको भारी जिउन गाह्रो छ
जो होचो उस्को मुखमा घोचो बोक्सीको आरोप।

वैज्ञानिक युग भनेर भन्छ के भयो मानव?
नारीका माथि हमला गर्छ मनुष्य दानव।

रूढि मान्यता को बस्न सक्छ गरेर स्वीकार?
दुःखको कर्म *दृष्टिको भ्रम विभेदको सिकार

बाउ टोकुइ, मन्द बुद्धिकी, बौलाइ टुहुरी
उपमा सही बाँचेकी थिई अनामिका छोरी।

कलमजीवी बिमल सर पुगेर समीप
जलाइदिए उनले फेरि *आकाङ्क्षाको दीप।

मनमा छिरी भावना बुझी बुझाई जगत
गुरुमा मात्र क्षमता हुन्छ बदल्ने तागत ।

आशाको दीप मनमा शान्ति गुरुको निकट
स्कुलको साथी सुमिरनसँग भयो जम्काभेट।

*कालो हेल्मेट लाएको केटा पछाडि परेको
अनु पाउन यता र उता के विधि गरेको ?

सकारात्मक भावको लागि स्वीकार अध्यात्म
असल कर्म गरेर फेरि भेट्नु छ परमात्मा।

अध्यात्म चेत भएमा बेस हुँदैन दोमन
जीवन राम्रो सत्सङ्ग मार्ग *उज्यालो दोभान ।

बुबाको कर्म समाजसेवा आमाको संस्कार
काशीरामका अमूल्य वाणी अन्तरसंवाद।

सकारात्मक परामर्शले जीवन बदल्छ
यसका लागि आदर्श गुरु आवश्यक पर्दछ।

आजको क्रान्ति शिक्षामा शान्ति नारीको पुकार
व्यक्ति हत्याको भावना होइन शिक्षामा सुधार।

चेतना छरी नेपालभरि नलाऊ बन्देज
नारीको मूल्य ठानी अमूल्य *शान्तिको सन्देश।

नारी नै ब्रह्मा नारी नै विष्णु नारी महेश्वर
शिक्षा र दीक्षा असल ज्ञान नारी नै ईश्वर।

अग्नि परीक्षा दिएर नारी सफल भएकी
दुःख र पीडा अँध्यारो जति सकल सहेकी।

शिक्षाको ज्योति मनमा रोपे बनिन्छ असल
*अँध्यारो औँसी हटेर जान्छ भइन्छ सफल।

मातृ संस्कार आत्मनिर्भर गुरुको सान्निध्य
सफलताको शिखर चुमिन् अनुको सौभाग्य।

ग्रामीण चेली पशुपालन कृषिकै छ काम
पिताको मार्ग पछ्याउँदैछन् *उघ्रिएको घाम।

अक्षय कोष निर्माण गरी नारीमा लगानी
पिताको स्वप्न साकार पार्न सत्कर्म थालनी।

कालो हेल्मेटवाला केटाले षड्यन्त्र गरेछ
प्रेमको खानी आँखाको नानी सुमिरन मरेछ।

प्रेमको मूल्य नबुझेपछि अँध्यारो छाएछ
अनुको नाम पुकार गरी पागल भएछ।

भोलिको लागि अतीत बिर्से वर्तमान सुन्दर
सामना गरे समस्यालाई नहुने के छ र?

सत्कर्म गरे संसार भरि उज्यालै उज्यालो
शिवको ज्ञान बुद्धको सिप शान्तिको दियालो।

बुबाको छायाँ आमाको माया अनौठो सङ्घर्ष
अनिताजीको ‘उज्यालो औँसी’ सुन्दर भविष्य।
* ओम भुसाल, नेपाल पुलिस स्कुल, सामाखुसीका शिक्षक हुन्।


