८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मेडिसिटी अस्पताल नानीको जीवन बचाउन सफल


२ भाद्र २०८१, आइतबार  

262
Shares

मिति २०८१ साउन १२ गते बुटबल उपमहानगरपालिका-१२, नयाँगाउँ, रूपन्देही निवासी नारायण प्रसाद भट्टराई र बबिता भुसालकी छोरी ‘पेरिसा भट्टराईको’को पाखुरामा रातो दाग देखियो। १३ गते त्यसले डल्लोको आकार लियो। पारिवारले ‘अन्धो खटिरो’ अर्थात् ‘पिलो’ भएको अनुमान लगायो। दुई दिनपछि त्यो घाउमा सानो मुख पनि देखियो। त्यसको मुखमा हल्का पिप पनि भरिएको थियो। भट्टराईले त्यसलाई निचोर्ने प्रयास गरे। नानीले खान र खेल्न खासै छाडेकी थिइनन् तर बिचबिचमा दुखेको गुनासो चाहिँ गरेकी थिइन्। १६ गते बिहानबाट नानीलाई हल्का ज्वरो आउन थाल्यो र शरीरका अन्य भागमा राता घमौरा जत्रा बिबिराहरू पनि देखिन थाले। नानीले खाना खान आनाकानी गर्न थालिन्। निल्न असहज भएजस्तो देखियो। उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगियो।

डाक्टर प्रकाश, डाक्टर बिपिन लगायतको टोलीले Toxic Shock Syndrome का कारण नानी बिमारी परेको निष्कर्ष निकाल्यो। यो ब्याक्टेरियाको सङ्क्रमणले निम्त्याउने जटिलता रहेछ। यसमा ब्याक्टेरियाले विषाक्त पदार्थहरू उत्पादन गर्दो रहेछ र ती ब्याक्टेरियाहरू रगतका माध्यमबाट शरीरभरि फैलने रहेछन्। यसले जुनसुकै उमेर तथा लिङ्गका मानिसहरूलाई असर गर्दो रहेछ। यस्तो जोखिम आउने कारकहरूमा छालाको घाउ, शल्यक्रिया आदि पर्दा रहेछन्। छोटो समय अर्थात् तीन-चार घण्टाको अन्तरालमा शरीरभर फैलिएर बिरामीलाई सिकिस्त बनाउन यो ब्याक्टेरिया जिम्मेवार रहेछ। जुन कुरा उपचारमा संलग्न डा. प्रकाशको भनाई उद्धृत गर्दै नानीका बुबा भट्टराईले बताए।

डाक्टर प्रकाश र डाक्टर बिपिन लगायतको टोलीले उपचारका लागि निकै मिहिनेत पनि गर्‍यो तर निको हुने कुनै छाँट देखिएन। ब्याक्टेरियाले उत्पादन गरेका विषाक्त कणका कारण शरीर निकै सुन्नियो। बिरामी नानी बेहोस भइन्।। ब्लड रिपोर्टअनुसार क्रेटिनाइन ह्वात्तै बढ्यो । मृगौला, कलेजो, मुटु, फोक्सोलगायतका आन्तरिक अङ्गहरूमा समस्या देखा पर्न थाल्यो।

प्रादेशिक अस्पतालले थप सङ्क्रमण हुनबाट नदिन Intravenous Immunoglobulin (IVIG) दिने योजना बनायो। यो औषधी बुटबल आसपासमा पाइएन। त्यसका लागि नेपाल-भारत सीमा क्षेत्र सुनौली जानुपर्‍यो। उपचार कै सिलसिलामा प्रयोग गरिएको उक्त औषधीले बिरामीको अवस्थालाई केही हदसम्म स्थिर राख्न मद्दत गर्‍यो जसलाई पछिसम्म प्रयोग गरिएको थियो। रोग र उपचार पद्धति दुवै पत्ता लागे पनि अन्य अङ्गहरूको समस्या भने यथावत नै थियो। यस्तो अवस्थामा थप जोखिम हुने भएकाले सबै किसिमका रोगको उपचार सम्भव हुने अस्पतालमा स्थानान्तरण गर्नुपर्ने स्थिति आयो। त्यसका लागि डाक्टरहरूले प्रस्टसँग सुझाव दिएको कुरा नानीका मामा विक्रम भुसालले बताए।

भट्टराईका साथीहरू डा. प्रकाश, डा. बिपिन, डा. श्रीधरलगायतले उपचारका सिलसिलामा आइपर्ने विभिन्न जटिलताहरूको एकै ठाउँ उपचार सम्भव भएको विशेष प्रविधियुक्त अस्पताल नेपाल मेडिसिटी लैजान सल्लाह दिए। सास छइन्जेल आश हुन्छ भने झैँ उनीहरूले साउन १८ गते शुक्रवार एयर एम्बुलेन्समार्फत् नेपाल मेडिसिटी हस्पिटलको उद्धार टोली लुम्बिनी प्रादेशिक अस्पताल झिकाए। बिमारीको सिङ्गो शरीर घाउ जस्तै भएको थियो। उपचारको कार्यभार उद्धार टोलीले लियो। आकाशमार्गमा पनि हस्पिटलकै वातावरण प्रदान गरेर दिनको १:३० बजे नेपाल मेडिसिटी हस्पिटल ल्याइयो। बिरामीको अवस्थाले निकै निराश बनाए पनि प्रविधियुक्त हस्पिटलको ब्रान्डले चाहिँ झिनो आशा पलाएको नानीका बाबा भट्टराईले खोज अनलाइनलाई बताए।

ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालको पीआईसीयुमा बालरोग विशेषज्ञ डाक्टर आना शर्माको नेतृत्वमा भेन्टिलेटरमा राखेर नानीको उपचार प्रक्रिया सुरु भयो। उपचारमा डाक्टर सुजिता भण्डारी, डाक्टर शोभा सापकोटा, डाक्टर अर्णव प्रसाद श्रेष्ठ, डाक्टर चन्द्र खरेल, डाक्टर ग्रीष्मा उप्रेती, डाक्टर सुबोध शाह, डाक्टर पूर्णिमा तुलसियनलगायतका विशेषज्ञहरूले पालैपालो नानीलाई पूर्ण निगरानी गरे। त्यसैगरी नर्स हिरा शोभा डङ्गोलको नेतृत्वमा सरिता प्याकुरेल, श्रेना बज्राचार्य, आश्मा केसी, श्रीया महर्जन, तिर्सना प्रधान, माट्रिना चौधरी, निरुता ओली, प्रसन्ना श्रेष्ठ, सुमित्रा तामाङ सुगारिका खड्कालगायतका नर्सहरूको हेरचाह तथा रेखदेखले नानीलाई रोग विरुद्ध लड्ने ऊर्जा प्रदान गर्‍यो भन्दै भट्टराईले अस्पतालप्रति आभार व्यक्त गरे।

सुरुमा रक्त परीक्षणका सूचनाहरू अपेक्षित भएनन्। शरीरमा प्लेटलेसको मात्रा घटेर ३० हजार हाराहारी पुग्यो भने डब्लुबिसी मात्रा बढेर ३५ हजार पुग्यो। त्यस्तै अन्य परीक्षणहरूको पनि अपेक्षित थिएनन्। नेपाल मेडिसिटी अस्पतालका डाक्टरहरूको टोलीले बिरामीको विभिन्न पक्षको सूक्ष्म अध्ययन गर्‍यो। बिरामीलाई प्लेटलेस दिनुपर्ने अवस्था आयो। त्यसपछि प्लेटलेस दिइयो। ४८ घण्टापछि रक्त परीक्षणका सूचनाहरूमा क्रमशः सुधार हुँदै आयो। करिब पाँच दिनको भेन्टिलेटर बसाएपछि नानीको स्वास्थ्यमा व्यापक सुधार आयो। खान र साधारण हिँडडुलका लागि नानी सक्षम भइन्।

त्यसपछि डा. सुनिल कुमार शर्मा ढकाल लगायतको टोलीले पटक पटक सर्जरी गरी नानीको पाखुरोमा भएको खटिरोको वरिपरिको ड्यामेज भागलाई हटाउने काम गर्‍यो। नानीको स्वास्थ्यलाई मध्यनजर गरी पीआइसीयुबाट अलग गरिएन। नानीको अनुहारबाहेक शरीरको सबै भागको छालाको पत्र गयो र शरीरको सबै भागमा पुरानो जस्तै छाला देखियो। साउन ३१ गतेसम्म आउँदा नानीको स्वास्थ्यमा धेरै सुधार भएको महसुस भयो। पुनः एक हप्तापछि फलोअपमा ल्याउने गरी अहिले अस्पतालले डिस्चार्ज दिएको जानकारी भट्टराईले हामीलाई बताए।

अत्याधुनिक प्रविधिले सुसज्जित नेपाल मेडिसिटी अस्पतालका डाक्टर तथा नर्सहरूले हाम्री छोरीलाई पुनर्जीवन दिनुभएको छ र हाम्रो जीवनको सहारा बचाइदिनु भएको छ। उहाँहरूको रेखदेख र बिरामीको उपचारमा देखाउनुभएको समर्पणप्रति हामी अत्यन्त कृतज्ञ छौँ भन्दै नानीकी आमा बबिता भुसालले अस्पतालको मुक्तकण्ठले प्रशंसा गरिन्।

नेपाल मेडिसिटी अस्पतालको सेवासुविधा र सरसफाई अत्यन्त प्रशंसनीय भएको र त्यहाँका डाक्टर तथा नर्सहरूले दिने सकारात्मक परामर्शले हामीहरूलाई अत्यन्त आशावादी बनाएको धारणा राख्दै भट्टराईले उपचारमा संलग्न डाक्टर तथा नर्सहरूलाई महाभारत गीता यथारूप पुस्तक हस्तान्तरण गर्दै अस्पतालप्रति आफू ऋणी भएको विचार व्यक्त गरे।

अहिले प्रकृतिमा रोगजन्य जीवाणु तथा विषाणुहरू अत्यन्त सक्रिय छन्। तिनको प्रभाव र फैलावट निकै द्रुत गतिमा हुन्छ। नानीलाई जुन रोग लागेको छ त्यो रोग तीन चार घण्टाभित्र शरीरभरि फैलिएर बिरामीलाई सिकिस्त बनाउँछ र जीवनलाई नै सङ्कटमा धकेल्ने खतरा हुन्छ। साधारण घाउखटिरा भनेर बेवास्ता गर्दा पछि गएर ठुलो समस्या भोग्नुपर्ने धारणा कीर्तिपुर मोडेल अस्पतालमा कार्यरत भट्टराईका साथी डा. श्रीधर खनालले अनलाइन खोज न्युजलाई बताए।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  १ : ५४ बजे