२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

नेपाललाई, विशाल राज्य, बनाई बुझाए पृथ्वीनारायणले: राष्ट्रिय एकता दिवस-२०८१


२६ पुस २०८१, शुक्रबार  

170
Shares

सिरको माथि, श्रीपेच राखी, पृथिवी उदाए
नेपाललाई, विशाल राज्य, बनाई बुझाए।

नेपाल देश, बनाए एक, सबैका परान
नेपाली मन, नेपाली धन, पृथ्वी नारायण।

निडर भई, अगाडि बढे, देखाए वीरता
बाइसे अनि, चौबिसे टुक्रे, राज्यको एकता।

साथमा थिए, गोर्खाली सेना, साहसी सिपाही
नमानी डर, उनकै भर, लडेका नखाई ।

कीर्तिपुरेले, कालुको सिर, छिनाई धपाए
पहिलो पल्ट, लडाई हुँदा, नौ डाँडा कटाए।

भाइको आँखा, फुटेर गयो, पृथिवी रिसाए
जात्राको मौका, छोपेर फेरि, आफैँमा मिसाए।

भिडेर कतै, मिलेर कतै, योजना बनाए
नमिल्ने राज्य, उपर फेरि, खुकुरी समाए ।

बहुल जाति, बहुल भाषा, बहुल संस्कृति
हिमाल उस्तै, पहाड उस्तै, सुन्दर प्रकृति।

फिरङ्गी आए, नजर लाए, नेपाल देशमा
गोर्खाली सेना, मिलेर लडे, विविध भेषमा।

तिब्बती सामु, गोर्खाली सेना, वीरता देखाए
बैरीको सिर, छिन्न र भिन्न, पारेर मेटाए ।

नेपाल आमा, पुर्खाको नासो, जोगाई राख्नु छ
लगाई मित, श्रम र सिप, देखाई बाँच्नु छ ।

नेपाली जन, नेपाली मन, एकता नटुटोस्
जिउँदा मर्दा, समस्या पर्दा, मित्रता नछुटोस्।

शान्तिका गीत, गाउन पाऔँ, मिलेर सबैले
हिंसाको बाटो, नसमाओस् है, नेपाली कसैले।

एकता जस्तो, सुन्दर भाव, छरेर देखाऊ
पृथिवी जस्तो, उदार नेता, बनेर देखाऊ।

ओमभाइ@राष्ट्रिय एकता दिवस-२०८१

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : २१ बजे