ओम भुसाल
भाद्र २६, कीर्तिपुर।
पुस्ता बदलिन्छन् तर पुस्तासँगै आउने प्रश्न र चुनौतीहरू पनि बदलिन्छन्। अहिले हामीसँग जेन्जी पुस्ता छ। जिन्जीले संसारलाई प्रविधिको आँखाले हेरेको छ। यसले वर्तमानलाई निर्वस्त्र देखेको छ र आफ्नो भविष्यका लागि निडर आवाज उठाएको छ। उनीहरू अब परम्परागत साँचोमा कोचिएर बस्न चाहँदैनन्। उनीहरू परम्परागत आदर्शको भारी बोकेर हिँड्न पनि सक्दैनन्। उनीहरूलाई वास्तविकता चाहिन्छ, स्वतन्त्रता चाहिन्छ र अवसर चाहिन्छ।
एउटै उमेर समूहका बाबुहरू कोही गाडीमा हुइकिएका छन्, कोही बेरोजगार भई राडीमा थेच्चिएका छन्, कोही खाडीमा पसिनासँग बगाइरहेका छन् त कोही आफ्नै गाउँको झाडीमा मिल्किरहेका छन्। जेन्जी पुस्ताले यस्ता वास्तविकतालाई नजिकबाट हेरिरहेका छन्। विभेद, अन्याय, असमानता र भ्रष्टाचारले उनीहरूको भित्री मनोभूमिलाई निरन्तर आहत पारिरहेको छ। त्यसैकारण उनीहरूको रगत उम्लनु, विवेकलाई आवेगले ढाक्नु र आक्रोश बाहिरिनु अस्वाभाविक होइन।
इमान्दार संस्कार पाएको जेन्जी पुस्ताले बाबुको पसिनाबाट आएको महँगो जुत्ताभन्दा आफ्नै श्रमको कमाइबाट किनेको साधारण चप्पलमा गर्व गर्छ। तर त्यही बेला आफ्नै उमेर समूहका केही व्यक्ति श्रमविहीन विलासितामा रमाइरहेका दृश्यले उनीहरूको आत्मनिर्भरताको विश्वास हिलाम्य बनाउँछ। उनीहरूको आत्मसम्मानमा गहिरो चोट पुर्याउँछ। श्रम गर्नेहरूको दयानीय नियति र बेइमान गर्नेहरू प्रतिष्ठित ठहरिने सामाजिक यथार्थ देख्दा उनीहरूको मनोबल चकनाचुर हुन्छ।
जेन्जी पुस्ताले विभिन्न कोणबाट आवाज उठाउँछ। साधारण आवाज कसैले नसुनेपछि उनीहरू चिच्याउँछन्। चिच्याउँदा समेत नसुन्ने अवस्था लामो समय दोहोरिँदा विवेकमाथि पर्दा लाग्छ र आवेग अगाडि सर्छ। त्यही आवेगले उनीहरू मुठ्ठी उठाउन र सडक तताउन बाध्य हुन्छन्। यसरी द्वन्द्व चर्किन्छ, कानुनी दृष्टिले अपराध देखिने अवस्था आउँछ।
जेन्जी यस्तो समूह हो जसलाई सम्झाउँदा त रिसाउँछ भने दबाउँदा झन् भड्किन्छ। उनीहरूमा सहनशीलता कम हुन्छ। उनीहरूको आत्मा विद्रोही हुन्छ तर त्यो विद्रोह विनाशका लागि नभएर उपाय खोज्नका लागि हो। उनीहरूले एउटै उमेर समूहका बाबुहरूका कथा देखेका छन्। आफ्नै दाजुदिदीहरूका व्यथा देखेका छन्। भ्रष्टाचारले देश आक्रान्त भएको र श्रमले मूल्य नपाएको कहानी दिनदिनै भेटेका छन्। फरक पेसा अँगाल्दा पेट पाल्न गाह्रो भएको बाबुको कर्कटपाते निधार सम्झेका छन्। बाबुको उमेर समूहका मानिस राजनीतिलाई पेसा बनाएर विलासी जीवन जिएको यथार्थ लुकेको छैन। शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुरा व्यापारका विषय बनेका छन्। स्वतन्त्रता र सूचनाको हक कागजमा कैद छ।जेन्जी पुस्ताले यसलाई सहन गर्न सक्दैन। उनीहरूको आवेगलाई शमन गर्न पुरानो पुस्ता निकै जिम्मेवार बन्न आवश्यक छ।
आज उनीहरूको जीवनको आधार केवल विद्यालय वा घर होइन, प्रविधि पनि हो। प्रविधि नै साथी हो, सहयात्री हो, आत्मअभिव्यक्तिको माध्यम हो। जब सामाजिक सञ्जालबाट उनीहरूलाई अलग गर्न खोजिन्छ तब उनीहरूले आफ्नै आवाज, आफ्नै संसार नै खोसिएको महसुस गर्छन्। सेप्टेम्बर ८ को आन्दोलन यही पीडाको विस्फोट हो। त्यसलाई सडकमा देखिएको आक्रोश होइन, नयाँ पुस्ताले दिएको चेतावनीका रूपमा बुझ्न जरुरी छ।
जेन्जीका दृष्टिले हेर्दा देशमा आशाभन्दा निराशा र भविष्यभन्दा अन्धकार नै बढी देखिन्छ। उनीहरूको मनमा एकातिर विदेशिएका अग्रजहरूको छवि छ भने अर्कोतिर आफ्नै देशमा सुरक्षित भविष्य छैन भन्ने गहिरो अनुभूति छ। जब यही पीडा र आक्रोश बोकेर उनीहरू सडकमा उत्रिन्छन्, त्यो देख्दा म बुबा र शिक्षक दुवै हुनुको नाताले चुकचुकाउँछु किनकि त्यो आक्रोशित बालक मेरा आफ्नै छोराछोरीजस्तै लाग्छ। परिवारले सन्तानलाई केवल जन्म दिएर मात्र जिम्मेवारी पूरा गर्दैन; उनीहरूको भावना र सपनामा सहयात्री बन्नुपर्छ। समाजले युवालाई उच्छृङ्खल भनेर मात्र दुत्कार्ने होइन; उनीहरूको आवाजलाई सुनेर बाटो देखाउनुपर्छ। विद्यालयले केवल अनुशासनमा बाँध्ने होइन; आत्मअभिव्यक्तिको अवसर दिनुपर्छ। राज्यले नागरिकको जिउधन मात्र होइन; उनीहरूको आशा, सपना र भावनाको पनि रक्षा गर्नुपर्छ। युवाको चिच्याहट वास्तवमा हाम्रो मौनतामाथिको प्रश्न हो र त्यसलाई उत्तर दिनु हाम्रो साझा दायित्व हो।
लोकतन्त्र दबाबले होइन, संवादले बाँच्ने अभ्यास हो। त्यसैले युवालाई प्रतिद्वन्द्वीलाई झैँ पेलेर होइन, साथी जस्तै बनेर वा सुनेर मात्रै समाधान सम्भव हुन्छ। नेतृत्वले आफूलाई आकाश थाम्ने हुटिट्याउँ सोच्नु हुँदैन। म बिना सारा संरचना ध्वंस हुन्छ भन्ने भ्रम पनि पाल्नु हुँदैन। युवाको विद्रोहलाई दमन गरेर होइन, स्वीकार गरेर मात्र सहअस्तित्व सम्भव हुन्छ। कहिलेकाहीँ दुई कदम पछाडि हटेर एक कदम अगाडि बढ्दा दीर्घकालीन विजय हासिल हुन्छ।
जेन्जीको आन्दोलनले हामीलाई एउटा गहिरो पाठ दिएको छ। अब हामी नयाँ पुस्ताको लागि पुरातन ढर्राबाट होइन, संवेदनशील र जिम्मेवार बन्नुपर्छ। उनीहरूलाई सुन्न सक्नुपर्छ। उनीहरूको आँसु दमनबाट पुछ्न सकिँदैन। उनीहरूको आक्रोश दबाबबाट रोक्न सकिँदैन। जबरजस्ती गरेर जितिँदैन। मन जित्न सक्ने भाषा संवाद हो, सहअस्तित्व हो र सम्मान हो।
यदि हामी अझै पनि अड्किन्छौँ भने, त्यो पुस्ता आफ्नो बाटो आफैँ बनाउँछ। तिनीहरूले बनाउने बाटो साउने भेल जस्तै हो। त्यसले पुराना संरचना बगाउन सक्छ, भत्काउन सक्छ अनि त्यही संरचनासँग हामी बिलिन हुन बेर लाग्दैन। त्यसैले आजैदेखि सबैले एकमत भएर भन्नुपर्छ—हामी हाम्रो सन्तानसँग छौँ, उनीहरूको आवाज सुन्छौँ, उनीहरूको भविष्य सुरक्षित गर्न सँगै हिँड्छौँ।


