काठमाडौं ! नेपाल फार्मेसी सङ्घको तेस्रो केन्द्रीय महाधिवेशन आज काठमाडौँको धुम्बाराहीमा सफलतापूर्वक सम्पन्न भएको छ। यस महाधिवेशनबाट संस्थाको नयाँ २३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिमा युवराज भुसाल अध्यक्ष, टेकबहादुर बिक प् उपाध्यक्ष, मिना भट्ट उपाध्यक्ष, महेश्वर पोखरेल उपाध्यक्ष र सुवर्णराज पन्त महासचिवको जिम्मेवारी सुम्पिएको छ।
त्यसैगरी संघको सचिवमा कवीन मलेकु, ध्रुव शर्मा, रामप्रसाद कोइराला, नवीन धामी, सुन्दर आचार्य, कृष्ण मुरारी शुक्ला र विनोद पन्त चयन हुनुभएको छ भने संघको कोषाध्यक्षमा यदु प्रसाद पन्त र सहकोषाध्यक्षमा विष्णु कडेल सर्वसम्मत हुनुभएको छ, त्यसैगरी सङ्घको सदस्यमा सफीउर रहमान, ओमकार अर्याल, अर्जुन कार्की, गोविन्द तिवारी, सुशील सिग्देल, दिनेश जोशी, विजय फूलेल, विकास केसी र शिवकुमार मिश्र चयन हुनुभएको छ।

महाधिवेशनको उद्घाटन सत्रमा संस्थाका सल्लाहकार बाबुराम हुमागाईं र विवेक सिंह महतको उपस्थिति रहेको थियो। उनीहरूले फार्मेसी क्षेत्रमा गुणस्तरीय सेवा र देशभरिका फार्मासिस्टहरूको सहकार्यलाई अझ बलियो बनाउन आवश्यकता रहेको बताए।
नयाँ अध्यक्ष युवराज भुसालले संस्थाको प्राथमिकता भनेको फार्मेसी पेशाको गरिमा बचाउने, सदस्यहरूको व्यावसायिक स्तर उकास्ने, र सरकारसँग समन्वय गरी फार्मेसी व्यवसाय लाई व्यवस्थित गर्ने लक्ष्य रहेको बताए। उनले भने, “हाम्रो संघले नीतिगत सुधार, प्रशिक्षण कार्यक्रम, र अन्तर्राष्ट्रिय मानक अनुरूप कार्यसंस्कृति विकासमा जोड दिनेछ।”
महाधिवेशनले गत अवधिको प्रगति प्रतिवेदन र आर्थिक विवरण पनि सर्वसम्मत रूपमा पारित गरेको छ। यस अवसरमा सदस्यहरूले फार्मेसी शिक्षा, लाइसेन्सिङ प्रक्रिया, र औषधिको गुणस्तर नियन्त्रणलाई प्राथमिकतामा राख्न आग्रह गरे।
यो महाधिवेशनले संस्थालाई नयाँ ऊर्जा साथै दीर्घकालीन रणनीतिक योजनाको आधार पनि तय गरेको छ। नयाँ कार्यसमितिले आगामी २ वर्षको कार्ययोजना छिट्टै घोषणा गर्ने घोषणा गरिएको छ।


