२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

मनोज शर्मा सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस


२४ बैशाख २०८३, बिहिबार  

0
Shares

संवैधानिक परिषदको बिहीबार बसेको बैठकले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार अपराह्न भएको बैठकले उक्त निर्णय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले जानकारी दिए।

उनले आफू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे बाहेक अरू सबैले शर्माकै पक्षमा मत राखेको बताए।

संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रतिपक्षी दल नेता र कानुनमन्त्री रहने व्यवस्था छ।

लामो समय अधिवक्ताका रूपमा सक्रिय रहँदै आएका शर्मा कानुनी अभ्यास, अनुसन्धान र न्यायिक जिम्मेवारीका विभिन्न तह पार गर्दै सर्वोच्च अदालतसम्म पुगेका हुन्।

संवैधानिक परिषदले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरियतामा रहेका मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

सन् १९७० मा वीरगन्जमा जन्मिएका शर्माले नेपाल ल क्याम्पसबाट बिएल गरेका थिए। त्यसपछि उनले भारतको पुणे विश्वविद्यालयबाट एलएलएमको उपाधि हासिल गरे भने त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि (पिएचडी) गरेका छन्। 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ६ : २१ बजे