२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकीय भूमिकामा फर्किए


२६ भाद्र २०८१, बुधबार  

0
Shares

क्रिकेट प्रशिक्षक जगत टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकीय भूमिकामा फर्किएका छन्।
उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा भ्रमणका लागि कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको छ। 
क्यानडा भ्रमणका लागि नेपाली टोलीको विदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टमाटालाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको जानकारी दिए। 
अब टमाटाले मुख्य प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा नेपाली टोलीमा काम गर्नेछन्।
यसअघि राष्ट्रिय खेलकुद परिषद्‌अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक हुँदा टमाटाले उमेर हदका कारण २०७९ को असोजमा अवकास पाएका थिए। 
५८ वर्ष पुगेसँगै उनले राष्ट्रिय खेलकुद परिषद्को कर्मचारीबाट पनि अवकास पाएका कैलालीका टमाटा नेपालले सन् १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा राष्ट्रिय टिमबाट खेलेका थिए। सन् २००१ देखि प्रशिक्षण थालेका उनले नेपाली राष्ट्रिय टिम, महिला राष्ट्रिय टिमसँगै उमेर समूहका टिमको मुख्य प्रशिक्षक भएर काम गरेका  थिए। 
पछिल्लो समय उनी राष्ट्रिय टोलीबाहिर रहे पनि फेरि टोलीको व्यवस्थापकीय भूमिकामा फर्किएका हुन्।क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।
क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ३४ बजे