२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

तेक्वान्दोमा अब्बल बन्दै नेपाल पुलिस स्कुल, सामाखुसी


२८ भाद्र २०८१, शुक्रबार  

1.1k
Shares

नेपाल तेक्वान्दो सङ्घले यही भदौ २४ देखि २७ गतेसम्म राष्ट्रव्यापी 3rd NTA League Championship -2024 अन्तर्गत तेक्वान्दो प्रतियोगिता आयोजना गरेको थियो। ललितपुर महानगरपालिका सातदोबाटो स्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न उक्त प्रतिस्पर्धामा पुम्से प्रदर्शन र गेरुगी फाइट प्रतिस्पर्धामा मुलुकभरबाट ३५० पदकका लागि १५४४ जना खेलाडीहरूको सहभागिता रहेको थियो। जसमा विभिन्न विभागीय क्लब र डोजाङको सहभागिता रहेको थियो। त्यसमा नेपाल पुलिस क्लब र नेपाल पुलिस स्कुलका खेलाडीहरूले पनि सहभागिता जनाएका थिए। नेपाल पुलिस स्कुल सामाखुसीले गेरुगी फाइट विधाअन्तर्गत २२ जना र पुम्से प्रदर्शन विधाअन्तर्गत ११ जना गरी जम्मा ३३ जना खेलाडीहरुलाई सहभागी गराएको थियो।

उक्त प्रतिस्पर्धामा नेपाल पुलिस क्लब र नेपाल पुलिस स्कुलका खेलाडीहरूले ३६ पदक जित्न सफल भए। नेपाल पुलिस क्लबले दश स्वर्ण, बाह्र रजत र दुई कांस्य गरी २४ पदक हासिल गर्‍यो भने नेपाल पुलिस स्कुल, सामाखुसीले तीन स्वर्ण, दुई रजत र सात कांस्य गरी १२ पदक जित्न सफल भयो।

नेपाल पुलिस स्कुल, सामाखुसी डोजाङका रिजन रावत, गविस जिसी र प्रणय विक्रम अधिकारीले १० वर्ष मुनिको पुरुष ग्रुप पुम्से प्रदर्शनमा स्वर्ण पदक जिते। त्यसै गरी १० वर्ष मुनिकै पेयर पुम्से प्रदर्शनमा प्रणय विक्रम अधिकारी र एन्जल रानाले रजत पदक हात पारे।

(तस्बिरमा: NPS का शिक्षकका साथमा स्वर्ण पदक विजेता गविस जिसी, रिजन रावत र प्रणय विक्रम अधिकारी)

१२ वर्ष मुनिको पुम्से प्रदर्शनमा नेपाल पुलिस स्कुल, सामाखुसीकै खेलाडी आयुसी लुइटेल, योनु राई र सुप्रिया पाठकको समूहले कांस्य पदक हासिल गर्‍यो। १४ वर्ष मुनिका महिला ग्रुप पुम्से प्रदर्शनमा नेपाल पुलिस स्कुल, सामाखुसीका सृष्टि खड्का, विनिशा श्रेष्ठ र करिना सत्य परियारले कांस्य पदक जित्न सफल भए।

महिला जुनियर ५२ केजी तौल समूहअन्तर्गत गेरुगी फाइटतर्फ नेपाल पुलिस स्कुल, सामाखुसीकी छात्रा नाओमी भुसालले कांस्य पदक जितिन्। उक्त विद्यालयबाट सहभागी भएका अन्य विद्यार्थीहरूले पनि राम्रो प्रदर्शन गरेका थिए। खेलकुदमा सहभागिता नै जित हो र जित्नुभन्दा पनि रिङमा टिक्नु सबैभन्दा ठुलो कुरो रहेको उक्त स्कुलका तेक्वान्दो प्रशिक्षक सुरेन्द्रबहादुर महराले बताए।

स्कुलले विद्यालय समय अघि र पछि गरी दुई सयभन्दा बढी विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आइरहेको छ। अहिले स्कुलले कक्षा तीनका विद्यार्थीहरूलाई तेक्वान्दो पाइलट परियोजनाअन्तर्गत प्रशिक्षण दिइँदै आएको छ। समय र साधनको अभावमा पनि विद्यार्थीहरूले गरेको प्रदर्शनबाट आफूलाई खुसी लागेको कुरा तेक्वान्दो प्रशिक्षक महराले बताए। अतिरिक्त क्रियाकलाप अन्तर्गत तेक्वान्दोलाई प्राथमिकतामा राखेर अगाडि बढेमा यसबाट अझ बढी उपलब्धि हासिल गर्न सकिने उनको ठहर छ।

आत्मरक्षा, आत्मविश्वास, अनुशासन, शारीरिक तन्दुरुस्ती र मनोरञ्जनका लागि तेक्वान्दो आवश्यक हुन्छ। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको बास हुन्छ भने झैँ विद्यार्थीहरूलाई पठनपाठनको पूर्व तयारीका रूपमा खेलकुदलाई समावेश गर्नुपर्ने धारणा उनको छ। जुन विद्यार्थी शारीरिक रूपमा तन्दुरुस्त हुन्छ त्यसले अन्य क्षेत्रमा पनि राम्रो तरिकाले कार्य सम्पन्न गर्दछ। त्यसैले हरेक स्कुलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद तथा तेक्वान्दोलाई समावेश गर्नुपर्ने विचार महराले राखे।

गत वर्ष नेपाल पुलिस स्कुल, सामाखुसीले उपत्यकाव्यापी First NPS Taekwondo Championship-2080 आयोजना गरेको थियो। यस वर्ष पनि उक्त कार्यक्रमले निरन्तरता पाउने कुरा विद्यालयको क्यालेन्डरमा उल्लेख छ।

यस स्कुलका विद्यार्थीहरूले विभिन्न डोजाङ तथा क्लबले आयोजना गरेका तेक्वान्दो प्रतिस्पर्धामा सहभागी भएर पदक, ट्रफी तथा नगद पुरस्कार हासिल गर्दै आइरहेका छन्। गत साउनमा तेक्वान्दो सङ्घले आयोजना गरेको चौथो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा यस स्कुलले एक स्वर्ण, एक रजत र तीन कास्य गरी पाँच पदक जितेको थियो।उक्त प्रतियोगितामा प्रमिषा खड्काले स्वर्ण पदक, सहर्षिका लामाले रजत र एन्जल राना मगर, ओजस्वी कपाली र नाओमी भुसाल गरी तीन जनाले कास्य पदक प्राप्त गरेका थिए।

(तस्बिरमा: बायाँपट्टि NPS का प्रशिक्षक सुरेन्द्र बहादुर महरा, NPC का प्रशिक्षक अनोज पुजारी, सहभागी विद्यार्थी र दायाँपट्टि NPS का प्रशिक्षक सुजन राना मगर )

 गतवर्ष भगवती क्लब, टोखाले आयोजना गरेको उपत्यकाव्यापी तेक्वान्दो प्रतिस्पर्धामा यस स्कुलले सबैभन्दा बढी पदक जिती ट्रफी तथा नगद पुरस्कार हात पारेको थियो।

टोखा भगवती क्लब द्वारा आयोजित प्रतिगीताका केहि तस्बिरहरु:

NPS का प्रशिक्षक सुजन राना मगरका साथमा प्रशिक्षार्थीहरु

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : २० बजे