परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको सो भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो ।
सो भेटमा मन्त्री डा राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराउनुभएको थियो ।
मन्त्री डा राणाले नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पनि छिट्टै टुङ्ग्याउने जानकारी गराउनुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका पुग्नुभएकी मन्त्री डा राणा वासिङ्टन डिसीमा हुनुहुन्छ ।
१४ असोज, २०८१